ब्रेललिपि पाठ्यपुस्तक नहुदा दृष्टिविहीनलाई सकस नै सकस

कार्तिक २२, जुम्ला : जुम्लाको सिंजा गाउँपालिका नराकोटस्थित भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपि पाठ्यपुस्तक नपुग्दा पठन पाठनमा समस्या भएको छ । कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या देखिएको हो ।

कात्तिक तेस्रो सातासम्म पनि ब्रेललिपि पाठ्यपुस्तक नआएकाले पठनपाठनमा समस्या भएको कक्षा १२ मा अध्यनरत विद्यार्थी धर्मलाल प्याकुरेलले गुनासो गरे ।

अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को नआएकाले पढाइ प्रभावित भएको स्रोत शिक्षक दत्तबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार कक्षा ११ को आइनपुगेको र १२ को ब्रेललिपि पाठ्यपुस्तक नछापिएको भन्ने खबर प्राप्त भएको छ । कक्षा ११ मा २ र कक्षा १२ मा २ विद्यार्थी गरी ४ जना दृष्टिविहीन अध्ययनरत छन् ।

दृष्टिविहीनको अध्ययनका लागि एक मात्र सहारा ब्रेल पाठ्यपुस्तक समयमै नआउने व्यथा यस पटक पुनः दोहोरिएको छ ।

यो वर्ष कोरोनाका कारण समयमै अन्य विद्यालयमा समेत पाठ्यपुस्तक जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने निर्णय गरेको थियो ।

गत वर्ष छापिएको कक्षा ११ को पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । गत वर्ष साथीहरूको फोन र समन्वयको भरमा अध्ययन गराइएको थियो । अहिले पाठ्यपुस्तक नआएकाले समस्या भएको छ ।

लामो समयदेखि नेपाल नेत्रहीन संघ र नेपाल दृष्टि कल्याण संघले पाठ्यपुस्तक छापिरहेका छन् । तर, यो वर्ष ११ र १२ कक्षाको पाठ्यपुस्तक छाप्ने कार्यक्रम छैन ।

नेपाल नेत्रहीन संघका पूर्वअध्यक्ष नरबहादुर लिम्बू यो वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको जानकारी दिए ।

पाठ्यपुस्तक नछापिएकाले देशभरका ११ र १२ कक्षाका विद्यार्थी अन्योलमा रहेको उनको भनाइ छ । सरकारले कक्षा १० सम्म मात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको छ ।