प्रधानन्यायाधीश राणाले भने –भोलिदेखि म आफै अदालत हाजिर हुन्छु

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।

कोरोना संक्रणपछि राणा बलम्बुस्थित एपीएफ अस्पतालमा मंसिर १३ गतेदेखि उपचार गराइरहेका छन्। संविधानको धारा १२९ ९६० अनुसार प्रधानन्यायाधीश देश बाहिर गएको वा अन्य कारणले अदालतमा उपस्थित हुन नसकेकामा वरिष्ठतम न्यायाधीशलाई कायम मुकायमको जिम्मेवारी पाउने व्यवस्था छ।

संवैधानिक प्रावधानअनुसार राणा उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा स्वतः वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी पाउनुपर्ने भए पनि प्रधानन्यायाधीश बिरामी परेको औपचारिक जानकारी नभएको भन्दै प्रशासनले कार्कीलाई कामय मुकायम स्वीकार गर्न आनाकानी गरेको छ।

सर्वोच्च प्रशासनले राणा अस्पताल भर्ना भएको औपचारिक जानकारी नभएको बताएको छ। तर एपीएफ अस्पतालले भने विज्ञप्ति जारी गर्दै राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जनाएको छ।

कार्कीले कायममुकाय प्रधानन्यायाधीशका रुपमा काम गर्ने र राणाको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनबारे बिहीबार सर्वोच्चका बाँकी सबै न्यायाधीश र नेपाल बार एवं सर्वोच्च बारका पदाधिकारीबीच छलफल भएको छ।

छलफलस्थलबाटै वरिष्ठतम न्यायाधीश कार्कीले राणालाई फोन गरेर कार्यबाहक दिन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन्।

जवाफमा राणाले भोलिदेखि आफै अदालत हाजिर हुने बताएको छलफलमा सहभागी बारका एक पदाधिकारीले देश सञ्चारलाई जानकारी दिए। राणाले दिएको जवाफ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘म तपाईंलाई कार्यबाहक दिन्न। म आफै अदालत हाजिर हुनसक्ने अवस्थामा छु। भोलिदेखि कार्यालय आउँछु।’

राणाले कार्यबाहक दिन अस्वीकार गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न न्यायाधीश, नेपाल बार र सर्वोच्च बारको बैठक बसिरहेको छ।

बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीश राणालाई कार्यबाहक दिन सुझाव दिने निर्णय गरेको थियो।