काठमाडौं । नेपालमा विद्युतीय सवारी साधानको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७८ र ७९ को कात्तिक मसान्तसम्म २ अर्ब बढीको विद्युतीय सवारी आयात भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा २ अर्ब ५२ लाख ५५ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ ।
असोज मसान्त र कात्तिक मसान्त (एक महिनाको अवधिमा) को तुलनामा विद्युतीय सवारी आयात ५०.०६ प्रतिशतले बढेको विभागले जनाएको छ । असोज मसान्तसम्म १ अर्ब ३३ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।
विभागका अनुसार कात्तिक मसान्तसम्म आईपुग्दा विभिन्न तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान थप २२७ वटा सवारी आयात भएको हो । विद्युतीय सवारी साधान आयातबाट सरकारले ५६ करोड ६७ लाख ३९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका, फ्रान्स, कोरिया र जापानबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ ।
उक्त अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको छ । चीनबाट १ अर्ब ३५ करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरका विभिन्न तौल क्षमता भएका विद्युतीय सवारी नेपाल भित्रिएको हो ।
विभागका अनुसार चीनबाट १५० देखि २ सय किलोवाट क्षमता ४२५ थान कार, जीप र भ्यान आयात भएको छ । यस्तै, ६ करोड ६० लाख ३३ हजार रुपैयाँ बराबरको १ सय किलोवाट क्षमता भएका ३० वटा सवारी नेपाल आएको छ ।
यस्तै, चालु आवको कात्तिक मसान्तमा भारतबाट ३१ करोड ९९ लाख ८५ हजार रुपैयाँ बराबरको १२९ थान कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । भारतबाट १ सय किलोवाट क्षमता विद्युतीय सवारी आयात भएको हो ।
उक्त अवधिमा कोरियाबाट भने २२ करोड २ लाख ४० हजार रुपैयाँ बराबरको ६० थान, जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ बराबरको २८ थान र फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।