नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात् ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणको चुनाव हुँदैछ ।
कांग्रेस विधानअनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।
मंगलबार बिहान सार्वजनिक मतपरिणामअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो ।
सभापतिका लागि कुल ४ हजार ६८१ मत खसेको थियो । जसमा ७७ मत बदर भएको छ । मतपरिणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी रहेका शेखर कोइरालाले १ हजार ७२९ अर्थात् २६.९३ प्रतिशत मत पाएका छन् ।
बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।
सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो । देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ ।
मतदानको समय तय भइसकेको त छैन तर आज मंगलबार नै मतदान हुने भनिएको छ । दोस्रो चरणमा भने कोईराला लाई सर्मथन गर्ने केहि नेताहरुको भनाई समेत सार्वजनिक भएको छ ।