जीवनोपयोगी शिक्षामा आवश्यक छ : मन्त्री खड्का

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्काले नैतिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा आवश्यकता भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–३२ स्थित गोगन माविको ५४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसको उद्घाटन गर्दै उहाँले नैतिकताविहीन शिक्षाले डाक्टर, इन्जिनियर बनाए पनि सभ्य, सुसंस्कृत मानव बनाउन नसक्ने उल्लेख गर्नुभयो ।

शिक्षा व्यावहारिक र जीवनोपयोगी बन्न नसक्दासम्म त्यसको अर्थ नरहने बताउँदै मन्त्री खड्काले अवसरको खोजीमा युवा विदेशिन बाध्य हुनुपर्ने अवस्थताको अन्त्यका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “युवामा देखिएको १० पास गरे हलो छोड्ने, १२ पास गरे थलो छोड्ने प्रवृत्ति रोक्नु जरुरी छ,” उहाँले भन्नुभयो, “अवसरका लागि विदेशिने युवा वाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी शिक्षा प्रणाली विकास गर्नु आवश्यक छ ।”

विद्यार्थीको शैक्षिक प्रगतिमा शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले विद्यार्थी स्वयम् पनि आफ्ना अभिभावकको सपना पूरा गर्ने किसीमले महत्वाकाङ्क्षी सपनाका साथ अध्ययन कार्यमा जुट्नुपर्ने बताउनुभयो । गोगन मावि व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको अबको प्राथमिकता शैक्षिक गुणस्तरीयता अभिवृद्धि रहेको बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक सबैको साथ र सहयोगमा विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गरिने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बरालले गोगन माविलाई नमूना विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अध्ययन अध्यापन भइरहेको बताउँदै हाल एक हजार ७५० विद्यार्थी अध्ययनरत भएको जानकारी दिनुभयो । विद्यालयमा कूल ७८ जना शिक्षकमध्ये २१ जना सरकारी अनुदानअन्तर्गत र ५७ जना निजी स्रोतअन्तर्गत रहनुभएको उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रकै शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण योगदान गरेको बताउँदै शैक्षिक गुणस्तरीयता अभिवृद्धि एवम् भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका वर्ष उत्कृष्ट शिक्षकका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकका विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।