माघ ५ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,“नेपाली काँग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा काँग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ । मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि काँग्रेसकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचन गराएको इतिहास छ । मुलुकमा काँग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष निर्वाचन भएको छ ।”
उनले तत्कालिन प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यतिवेला काँग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फष्ट भयौँ ।
म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन । पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ ।
उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौँ । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो । निर्वाचनको हकमा हामी संविधान वा कानुनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।”