माघ १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन्।
विराटनगर स्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए।
उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे।
उनले भने , ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ।’
केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए। उनले प्रदेश १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्नेगरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे।