सुन्तला बिक्रीबाट म्याग्दी मङ्गलामा २१ लाखको आम्दानी

माघ १६ : मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् ।

बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।

“पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उहाँले भन्नुभयो, “सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो । गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो ।

अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी र्गो गरेको बेम गिरीले बताउनुभयो ।“अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,” उहाँले भन्नुभयो, “त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ ।” उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो ।

नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन् । उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।

सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौति बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हुदैँ भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।(रासस)को सहयोगमा