माघ १७ : अमेरिकी सहयोग सम्झौता (एमसीसी) को चर्चा एकपटक फेरि माथी उठेको छ , एमसीसी संसद्बाट पास गर्नेगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि बढेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ।
खासगरी स्थानीय तहको निर्वाचनबारे गठबन्धनका नेताहरु छलफलमा जुटेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि सहयोग गर्नपनि आग्रह गरेका थिए ।
देउवाले एमसीसी पारित गर्न नसघाए आफूलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्ने प्रस्ताव गरेको पनि खुलासा गरे ।
प्रधानमन्त्रीको मुखबाट यस्तो सुनेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अचम्मित भएका थिए ।
एक गोप्य स्रोतकाअनुसार देउवाले उक्त छलफलमा एमसीसी पारित गराउन सहयोग नगरे गठबन्धन पनि टुट्ने चेतावनी दिएका थिए । यसअघि गत पुष २४ गते प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब सवा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटमा सदनको अवरोध हटाउने र एमसीसी पास गर्नेबारे छलफल भएको समाचार आएका थिए ।
अहिले एमालेले सदन अवरुद्ध जारी राखेको छ । एमालेले एमसीसीलाई पाँच दलीय गठबन्धन टुटाउने अन्तिम अस्त्र बनाएको छ। एमाले अध्यक्ष ओलीले एमसीसी पास गराउन चाहेको हो भने सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन प्रधानमन्त्री देउवालाई प्रस्ताव राखेका थिए । सभामुखलाई हटाए एमसीसी पास गराउन आफूहरुले सघाउने ओलीको वचन थियो ।
आजमात्रै प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले लामो फोन सम्वादन गरेको चर्चा छ । चीनले कुनैपनि हालतमा एमसीसी पास नगराउन दबाब दिईरहेको छ ।