२३ माघ : अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि सफल हुन नसक्ने देखिएको छ । बालुवाटार प्रचण्ड र नेपाल एमसीसीको पक्षमा नआउने निष्कर्षमा पुगिसकेको छ । आज देउवाले अन्तिम प्रयासस्वरुप प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राखेर निर्णायक छलफल गर्न खोजेका थिए ।
तर, प्रचण्ड माधवकुमार नेपालविना बालुवाटार जान तयार नभएको बुझिएको छ । उनले एमसीसीलाई लेखेको पत्र बाहिर सार्वजनिक भएकोमा समेत आपत्ती जनाएको विश्वस्त स्रोतले बताएको छ । एमसीसी संशोधनविना पारित गर्न तयार नहुने भन्दै प्रचण्डले गठबन्धनमा बरु नरहने जवाफ दिएको बुझिएको छ । प्रचण्डको यो जवाफ सँगै देउवा ओलीसँग मिलेर एमसीसी पारित गर्ने र नयाँ राजनीतिक समझदारीतर्फ बढ्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ