चैत्र १३ः नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको १९,२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताउनुभएको हो ।
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उहाँको आरोप थियो । प्रवक्ता महतले यस आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको बताउनुभयो ।
कुनै पारदर्शी योजनाबिना नै यस्तो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उहाँले बताउनुभयो ।


















