चैत्र १४ः नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको बताएको छ।
शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ ।
केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आउनुभएको छ ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतकाहरु नेताहरु पनि चुनावी तालमेलको पक्षमा छन् । शेखर कोइराला पक्षका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।
विमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

















