चैत्र १४ः डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली कौराडीमा वर्षौ बिजुली बत्ती पुगेको छ ।
यस वडा वर्षौँदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।
डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहकार्यमा आदर्श गाउँपालिकामा रहेको मौवानगर दहमा ३३ केभीए विद्युत् प्रसारण तथा वितरण केन्द्र स्थापना भएपछि अहिले यहाँका दुर्गम वडाहरुमा विद्युत् विस्तारको काम सुरु भएको मौवा विद्युत् सबस्टेसन कार्यालयका प्रमुख टेकबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार सबस्टेसन निर्माणसँगै हामीले पश्चिमी क्षेत्रका स्थानीय तहका सबै वडामा विद्युत् विस्तारको काम सुरु गरेका छौँ, सबैभन्दा विकट मानिएको कौराडीमा पहिलो पटक विद्युत् विस्तार भएको छ, अब अन्य वडा तथा गाउँमा विस्तार गर्नेछौँ ।
कुनै बेला विद्युत् नहुँदा अन्धकार जस्तै भएको छपाली कौराडीमा विद्युत् सेवा विस्तार पछि अहिले यो पूरै वडा झिलीमिली बनेको सायल गाउँपालिका–१ छपाली कौराडीका वडाअध्यक्ष हिरा थापाले बताउनुभयो । उहाँले भन्नुभयो,दुर्गम वडाहरुमा विद्युत् पुर्याउने हाम्रो सपना पूरा हुँदै छ, अन्य दुर्गम गाउँमा पनि क्रमिक रुपमा विद्युत् विस्तार गर्ने छौँ ।


















