बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

चैत २३ः नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावको मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नौ सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो ।

अहिलेसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा अहिलेसम्म अन्जिता खनालले आठ सय १३ र केदारप्रसाद कोइरालाले पाँच सय ३१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले आठ सय ७० र जगतबहादुर कार्कीले चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।

हिजो मङ्गलवार बिहानदेखि मतगणना सुरु भएको थियो भने बेलुका स्थगित गरेर आज बुधवार बिहान ९ बजेदेखि फेरि मतगणना सुरु गरिएको हो । बारको यही चैत १९ गते काठमाण्डौ केन्द्रसहित देशभर ३५ ठाउँमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको चुनावमा नौ हजार सात सय आठ मतदाताले मतदान गरेका थिए ।