बैशाख २: निर्वाचन आयोगले यहीँ महिना ३० गते स्थानीय चुनावको मिति घोषणा गरेसंगै यतिबेला देशको शहर ,गाँउ, नगर ,टोल जताततै राजनितीमय बनेको छ । चाहे साथीभाई भेट हुदा होस चाहे चिया गफ गर्दा अहिले चर्चामा कुनै बिषय छ भने त्यो राजनिती नै हो । यो स्वभाविक हो धान झुल्ने बेला मगमग धानको बास्ना मगमगाए जस्तै चुनावको समय चुनावकै कुरा हुन आवश्यक छ , चर्चा चुनावि माहोलसम्म मात्रै छैन बरु चर्चा त त्यहाँ छ जहाँ नया र बैकल्पिक अनुहारहरु देखिएका छन त्यस्तै पुरानो नेताहरु दोहोरि रहने प्रबृत्तिको क्रमबद्धता भंग गर्दै यतिबेला चर्चामा रहेको नाम हो र्यापर बालेन शाहको ।
काठमाडौंको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका बालेन शाह भन्दा बित्तिकै अधिंकाशंलाई सम्झनामा आउने उनको एउटा गीत हो ”काठमाडौं– नेता”
यो गीतमा भनिएको छ
काठमाडौंको नेता जति सबै चोर देश लुटी खा’ छन्,
खाने बेला एक, गर्ने बेला फुटिरा’छन्
नांग्रेस, नेमाले, नाओवादी
सबै मिली देश खाउँ बाँडी हामी’

गत वर्ष र्यापर बालेन (बालेन शाह) ले सार्वजनिक गरेको ‘बलीदान’ बोलको गीतमा माथी उल्लेखित शब्दको प्रयोग भएको छ । बालेनले आफ्ना अन्य गीतमा जस्तै यसमा पनि देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गरेका छन्। राजनीतिक दलहरूले जनताका लागि नभएर स्वयं आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै उनले यो गीतमा असन्तुष्टि पोखेका छन्।
आफै नेता र राजनितिप्रति यतिधेरै बितृष्णा राख्ने बालेन शाह कसरि एकाएक राजनितिमा हुमिए ? यो जो कसैलाई सोच्न बाध्य बनाउने प्रश्न हो । युवापुस्ताले निकै रुचाएका बालेन शाहलाई राजनितिले यसै गरि रुचाईदेला त ? आज यो बहसको बिषय बनेको छ । बालेनले केही हप्ता अगाडि आफू काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरे। पेशाले इञ्जिनियर र रुचिले गायक रहेका उनी राजनीतिमा हेलिन आईपुगेका छन।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेका बालेनलाई काठमाडौंबासि जनताले बिश्वास गर्न सक्ला त ? यही प्रश्नमा र्यापर बालेन भन्छन् यो मेरो हतार र आजको निर्णय हैन ‘मलाई मेयर बन्ने सोच ब्याचलर्स पढ्दादेखि नै आएको थियो, ‘म काठमाडौंको मतदाता भएकाले काठमाडौंबाटै मेयरमा उठ्न लागेको हुँ, ७५३ स्थानीय तहमा ७० जना युवा उठ्ने हो भने क्रान्ती आउँछ। त्यही क्रान्तिको लागि मैले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेको हुँ।’

पेशाले इञ्जिनियर र रुचिले गायक रहेका उनी मेयरमा उठ्न अहिले आफ्नो दृष्टिकोण र अजेन्डा निर्माण गरिरहेको बताएका छन्। ‘फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसँगै काठमाडौंका नगरबासीको हितमा के गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेको उनी सुनाउछन। काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरेका थिए, ९ कक्षामा हुँदा उनले ‘सडक बालक’ बोलको गीत लेखेका थिए। स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’ जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।
इन्जिनियरिङमा स्नातकोत्तर गरेका बालेन देशको ६५ जिल्ला पुगेर विभिन्न योजनादेखि संरचना डिजाइन सम्मको काम गरिसकेको उनी बताउँछन्। २०७२ सालको भूकम्पपछि उनले उद्धार, राहत वितरण र पुनःनिर्माणको काम गरेका थिए। आफूले अहिलेसम्म गरेको कामको अनुभव र देखेको राजनीतिक र सामाजिक परिस्थितिका कारण मेयर भएर विकासका काम गर्ने सोच बनाएको उनी बताउँछन्। बालेन भन्छन्, ‘हामी युवा भनेको जोश मात्रै होइन्, अध्ययन हो, अनुभव हो। हामीमाथि त्यत्तिकै भरोसा गर्न म भन्दिनँ। सक्षम लाग्छ भने भोट दिने हो, जबर्जस्ती भोट दिनुपर्छ भन्ने छैन्।’
संगीतकार देखि अभिनेता हुदै अधिंकाश युवाले सामाजिक सञ्जालमा स्टेटस लेख्दै उनको समर्थन गरेका छन । ‘बालेन केही गर्छु भनेर युवा जोशसहित राजनीतिमा आएको भन्दै उनका समर्थकले खुशी साटेका छन । बालेन राजनीतिमा नयाँ हुन्, तर काँचो भने होइनन्। इन्जिनियरिङ पढ्दा ताका नै उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। उनी भन्छन्, ‘इन्जिनियरिङमा अलिअलि राजनीति गरेको पनि थिएँ। त्यहाँ राम्रो गर्नेलाई दबाब आउँछ। देशको जस्तै अवस्था त्यहाँ पनि छ।’

३३ वर्षीय बालेन आफूलाई राजनीतिभन्दा बाहेकबाट भएको आम्दानीबाटै पर्याप्त पुग्ने हुनाले सेवाको भावनाले यो क्षेत्रमा लाग्न लागेको बताउँछन्। ‘मेरो दायाँबायाँ हिँड्दा पैसा आउँछ,’ बालेन भन्छन्, ‘मलाई पैसा कमाउन समस्या छैन्। कामदेखि गायन सबैतिरबाट पैसा आउँछ। नाम दाम दुवै छ। सबैथोक भएको मान्छे राजनीतिमा आउने होइन र? हाम्रो देशमा अन्तिममा केही नहुँदा राजनीतिमा आउने भन्ने छ। तर, म सबैथोक भएकाले राजनीतिमा आएको हुँ।’
युवा र्यापर वा कलाकारको नाममा पाएको चर्चालाई भोटबैकंको रुपमा प्रयोग गर्न खोज्नुभएको हो ? भन्ने हाम्रो प्रश्नमा बालेन आफू युवा भएको वा चर्चित भएकाले भोट मागेर मेयरमा उठ्न चाहना नगरेको बताउँछन्। उनी आफूभन्दा सक्षम कोही आएर अनुरोध गरेमा उम्मेदवारी फिर्ता गरिदिन तयार रहेको समेत बताउँछन्। बालेन भन्छन्, ‘विनोद चौधरीजस्ता मान्छे पैसा कमाएपछि नाम कमाउन राजनीतिमा आएका छन्। मैले त दाम र नाम दुवै कमाएको छु। युवा हुँ, डिग्री छ। ६५ जिल्लामा काम गरेको अनुभव बटुलेको छु। देशको राजनीति र समाज बुझेको छु। मलाई लाग्छ, म आफूले घोषणा गरेको पदको लागि सक्षम छु।’
बालेन आफूले काठमाडौंमा थुप्रै समस्याहरु देखेको भोगेको अनुभव सुनाउदै। केही अन्तर्वाताहरुमा आफ्नो एजेण्डा र भिजनमा विस्तृत ब्याख्या गर्दै आएका छन्। ‘म इञ्जिनियर हुँ, समाजको बारेमा गीत गाउँछु, मेरो मन असल छ,’ मैले उम्मेदवारीको घोषणा गर्नका लागि यति नै काफी भयो ।’


















