जेष्ठ १५ः राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
सोमबारदेखि देशभर एकैसाथ सुरू हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताएका छन । सोमबार बिहान ८ बजेदेखि सुरू हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा.शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए।
उनका अनुसार ७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।
विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर०मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छ ।


















