असार ३० : प्रतिनिधिसभाको उपसभामुख पदमा सत्ता गठबन्धनकोतर्फबाट कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०की नेत्री विद्या भट्टराईले मनोनयन दर्ता गराएका छन ।
बिहीबार संसद् भवनमा पुगेर नेत्री भुसाल र भट्टराईले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ताका क्रममा भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी रहेकी छिन भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोख्रेल रहेका छन ।
शुक्रबार प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा कांग्रेस नेत्री भुसाल र एमाले नेत्री भट्टराईको उम्मेदवारी परेको हो ।
निर्वाचन कार्यसूचीअनुसार मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि उक्त पद रिक्त छ ।


















