साउन ५ : पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ। साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ।
सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन्।
त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ। कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता शेयर अभौतिकीकरण भएको छ। यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन्।
धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८ र ७९ मा मात्रै रु सात अर्ब २० करोडभन्दा बढीको साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ।
यसबाट पनि नेपालको शेयर बजार विस्तार भएर गएको देखिन्छ। बोर्डले कूल सात करोड २० लाख ३६ हजार ४२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ।

















