गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ परेनन् फरार सांसद महतो

महोत्तरी । गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहेका छन् ।

सांसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडि हिँड्डुल गरेर चुनौती दिइरहेका छन् । शपथ ग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ ।

उच्च अदालत जनकपुरले २०७७ मा महतोलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।