दाहाल मन्त्रिपरिषद्‍मा कति जना महिला भए मन्त्री ?

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार महिला मन्त्री बनेका छन् । त्यस्तै दुई जना राज्यमन्त्रीको रूपमा मन्त्रिपरिषद्मा समावेश भएका छन् । मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे शपथ र त्यसपछि पदभार ग्रहण गरे ।

सत्तारुढ दलहरूमध्ये चार पार्टीबाट सरकारमा मन्त्री सहभागी भएका छन् । तीमध्ये एमाले र माओवादीले मात्रै मन्त्रीमा महिलालाई पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई राज्यमन्त्रीमा पठाएको छ ।

मन्त्रिपरिषदमा सबैभन्दा बढी मन्त्री भाग पाएको दाहाल नेतृत्वको सरकारमा मुख्य घटक नेकपा (एमाले)ले प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन महिला सांसदलाई मन्त्रीमा पठाएको छ । ८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री बनाएको हो ।

एमालेबाट मन्त्री हुने महिलामा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित सांसद विमला राई पौड्याल पनि छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै, एमालेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएका ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी र भगवती चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मन्त्री बनाएको छ । साह बारा ३ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने सुनसरी ३ बाट चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।

माओवादी केन्द्रले रेखा शर्मालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएर पठाएको छ । शर्मा दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । शर्मा माओवादीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचित एक्ली सांसद हुन् ।

रास्वपाले सांसद डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा पठाएको छ । उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।