असार एक गतेदेखि नयाँ बसपार्क क्षेत्र बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं, जेठ १९ । काठमाडौं महानगरपालिकाले आगामी असार एक गतेदेखि काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनलाई बसपार्क बाहिरबाट सञ्चालन गर्न नदिने भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाले नयाँ बसपार्कबाटै सार्वजनिक सवारी साधन सञ्चालन हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरोकारवाला पक्षसंग सहमति भएअनुसार नै सो निर्णय गरेको जनाएको छ ।

महानगरले अनाधीकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको भन्दै असारबाट उल्लेखित कार्य गर्न नपाइने स्पष्ट पारेको छ ।

‘असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न जानकारी गरिन्छ । धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ ।’ सूचनामा उल्लेख छ ।

उक्त निर्णय कार्यान्वयन नगर्ने जो कोहिलाई महानगरले ट्राफिक प्रहरीसंग समन्वय गरी नियमानुसार कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।