पृथ्वी प्रदुषणको जड प्लाष्टिक : उपराष्ट्रपति यादव

काठमाडौं, जेठ २२ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्वभर उत्पादन हुने प्लाष्टिकले वातावरण प्रदूषित गर्ने मात्र नभई व्यवस्थापन समेत जटिल बन्दै गएको बताएका छन् ।

विश्व वातावरण दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले प्लाष्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभाव न्यूनिकरण गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । उनले बिज्ञप्तीमा भनेका छन्,‘विश्वभर हरेक वर्ष उत्पादन हुने प्लाष्टिकमध्ये आधाभन्दा बढी एक पटक मात्र प्रयोग हुने गरेको छ । यसले वातावरण प्रदूषित मात्र गरेको छैन, यसको व्यवस्थापन अत्यन्तै जटिल हुनुका साथै चुनौतिपूर्ण समेत बन्दै गएको छ । यसले प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाव बढाउदै लगेको तितो यथार्थ बनेको छ । अतः प्लास्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनिकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको छ ।’

जलवायु परिवर्तनको कारण अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि हुने हुँदा यो संरक्षण र दिगो विकासका लागि चुनौती बनेको उनको भनाई छ । यो समस्या चिर्न सरोकारवाला सबै पक्ष सचेत र सावधान हुनु पर्ने उनले बताए ।

नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्दै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ ।