उद्दार र राहतमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री

काठमाडौं, असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग भेट गर्दै उनले उद्धारका लागि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका हुन् ।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

उनले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए ।

उनले तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशितको साथै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए ।

उक्त भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरूको उपस्थित रहेको थियो ।