बालेन र हर्कलाई पार्टीमा जोड्ने चाहाना छ : रवि लामिछाने

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङलाई पार्टीमा जोड्ने चाहना रहेको बताएका छन् ।

बिहीवार पार्टी स्थापनाको एक वर्ष पुगेको सन्र्दभमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निरन्तर राम्रो काममा सहकार्य गर्दै आएको भन्दै पार्टीमा उनीहरूलाई जोड्ने आफ्नो चाहाना रहेको बताए ।

उनले भने,‘यस्तो भए त राम्रो हुन्थ्यो । असाध्यै राम्रो हुन्थ्यो । मेरो चाहना पनि उहाँहरूलाई जोड्ने चाहना छ । उहाँहरूसँग सम्बन्ध सौहार्द छ । निरन्तर उहाँहरूको राम्रो काममा सघाएको छु । राम्रो संकेत बन्न सके राम्रो हुन्छ ।’ तर उनीहरूले पार्टी खोल्नेबारे आफूले नसुनेको उनले बताए । उनले भने ‘जसले जहाँबाट राम्रो गर्छ । कसैले राम्रो चिज गरेको छ भने सघाउने र मद्दत गर्ने हाम्रो नीति हुनेछ ।’

उनले अहिले मोर्चा आफुहरुको लागि नयाँ नभएको भन्दै अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेडर्क नै राखेको उनको दाबी छ ।

उनले भने, ‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेडर्क नै राखेका हौं। ’