अर्थमन्त्री डा.महत र भारतीय समकक्षी सितारमणबीच भेटवार्ता

गुजरात, साउन २ । अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय वित्तमन्त्री निर्मला सितारमण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ ।

भारतको गुजरातमा भइरहेको जी ट्वेन्टी अर्थमन्त्रीहरुको बैठकको अवसरमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका छन् ।

अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस वर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउने विषय उल्लेख भएको छ ।

भारतका अर्थमन्त्रीले एन पिएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन गरेको छ ।

उनले नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको राम्रो विकल्प रहेको र व्यवसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरेका छन् ।

मन्त्री महतले जी ट्वेन्टी सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागि हुने अवसर दिनुको साथै यो मञ्चमा नेपाल लगायत कम आय भएका देशको सरोकारका विषयहरू राख्न अवसर दिएकोमा धन्यवाद दिदै जी ट्वेन्टीको गतिशील एवं सवल नेतृत्व लिएकोमा भारतलाई बधाई पनि दिएका छन् ।