काठमाडौं,साउन ३ । नेपाली कांग्रेसको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी एक वर्षको कार्यक्रममा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ ।
केन्द्रीय समिति बैठकका सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेर कांग्रेसले नयाँ सुरुवात गरेको छ ।
आजको बैठकमा महामन्त्रीबाट प्रस्तावित २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरका विषयमा छलफल हुनेछ । साथै, गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्नुको साथै समसामयिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।
झन्डै एक वर्षपछि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीमा २२ वटा विभाग थप्ने र भदौ १५ गतेभित्र सबै गठन गर्नुको साथै आगामी असोजमा नीति महाधिवेशन आयोजना गर्ने पनि उल्लेख गरिएको छ । त्यसको स्थान, मिति र आवश्यक समितिहरू गठन गर्ने प्रस्ताव अघि सारिएको छ । कांग्रेसको विधानले नीति महाधिवेशनलाई भने चिन्दैन ।
त्यस्तै, पार्टीको क्रियाशील सदस्यता पाँच देखि सात लाख थप गर्न एक वर्षभरी नै अभियान सञ्चालन गर्ने प्रस्तावित कार्यक्रममा उल्लेख छ । कांग्रेसमा अहिले नै ८ लाख ६६ हजार क्रियाशिल सदस्य छन् ।
पार्टीका भ्रातृ संगठनलाई पूर्णता नदिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बैठकमा भदौ १५ गतेभित्र पूर्णता दिने प्रस्ताव गरिएको छ । नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ गतेभित्र बनाउने प्रस्ताव गरिएको छ । पूर्णता नपाएका नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गर्ने जनाइएको छ ।
मंगलबारको बैठकमा उपसभापतिसमेत रहेका सरकारका उपप्रधनमन्त्री पूर्ण बहादुर खड्का, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य रमेश लेखक र आनन्दप्रसाद ढुंगानाले क्रमस सरकारको काम, निर्वाचन परिचालन प्रतिवेदन, संसदको गतिविधि र अनुशासन समितिका कामका बारेमा बैठकलाई जानकारी गराएका थिए ।
आज केन्द्रीय समितिमा बोल्ने सदस्यहरूले ती विषयमा पनि आआफ्ना धारणा राख्ने छन् ।


















