गृहमन्त्री लेखकलाई तुरुन्त बर्खास्त गर्न सांसद कार्कीको माग

गृहमन्त्री लेखकलाई तुरुन्त बर्खास्त गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले गृहमन्त्री रमेश लेखकलाई तत्काल बर्खास्त गर्न माग गरेकी छिन् ।
भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी नभएर यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रुपमा प्रमाण र तथ्यहरु छताछुल्ल भएको उल्लेख गर्दै सांसद कार्कीले गृहमन्त्री लेखकको राजीनामा मागेकी हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत सांसद कार्कीले आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्बाटै यो अपराधको अनुमोदन गर्नु भएको भन्दै प्रश्न उठाएकी छिन् । उनले भनेकी छिन्,‘जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने यो भन्दा ठूलो अपराधको अर्को नमुना कुन चाहिन्छ ? र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्बाटै यो अपराधलाई अनुमोदन गर्नु हो।’

कार्कीले फेशबुकमा लेखेकी छिन्–

जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दैछुः भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन — यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रुपमा प्रमाण र तथ्यहरू सन्चारमाध्यममा छताछुल्ल हुँदैछन् ।
– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
– र त्यो पैसा सिधा गृहमन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।

जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने यो भन्दा ठूलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?

र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्बाटै यो अपराधलाई अनुमोदन गर्नु हो।

अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखि गृहमन्त्रीलाई तुरन्त बर्खास्त गरी सत्य तथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारवाही अघि बढाउन माग गर्दछु।

यदि प्रधानमन्त्री सहित सत्तारुड दुई दल मौन रहनछन् भने, यो स्वयम् सरकारको, संसदको, संविधानको र जनताको अपमान मात्र होइन यो संगठित अपराध हो ।