नेप्से १३ अंकले घट्याे

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.१७ अंक (०.४६ प्रतिशत)ले घटेर दुई हजार आठ सय २५.२३ बिन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले गिरावट भएको छ।

आज कारोबार रकममा समेत ठूलो गिरावट आएको छ। अघिल्लो दिन करिब साढे सात अर्बको सेयर कारोबार हुँदा आज यो रकम घटेर पाँच अर्ब ३६ करोड ५१ लाख २९ हजार रुपैयाँमा सिमित भएको हो। सोमबार ३४९ कम्पनीका एक करोड १६ लाख ५३ हजार कित्ता सेयर किनबेच भए।

नेप्से सूचक घटे पनि आज सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र सिखर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट (१५ प्रतिशतको वृद्धि) लागेको छ।सर्वाधिक गुमाउनेमा डोल्ती पावर र एनआइसी एसिया ग्रोथ फण्ड२ का लगानीकर्ता छन्। यी कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेका छन्।