काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संसद्को समितिमा स्पष्टीकरण दिएकी छन्।
उनले अडियोमा कुराकानी गर्ने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको दाबी गरेकी छन्।
images
अडियोमा मन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारूलगायतको नाम लिँदै कर्मचारी सरुवा–बढुवा र लेनदेनसँग सम्बन्धित दाबी गरिएको विषय सार्वजनिक भएको थियो। सार्वजनिक विवरणअनुसार अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिन्छ। उक्त अडियोबारे छानबिनको मागसमेत उठेको छ।
बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे मन्त्री चौधरीसँग जवाफ मागेका थिए। सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोबारे समितिमा स्पष्टीकरण मागेका हुन्।
जवाफमा मन्त्री चौधरीले अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान नरहेको बताइन्।
‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन,’ उनले भनिन्।
मन्त्री चौधरीले उक्त विषय कानुनी प्रक्रियामा गइसकेको र अनुसन्धान जारी रहेकाले यसबारे थप बोल्न नमिल्ने बताइन्।
उनले आफू लामो समयदेखि सुशासनका लागि काम गर्दै आएको उल्लेख गर्दै प्रमाण भए आफू त्यसको सामना गर्न तयार रहेको बताइन्।
‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन्।


















