काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको स्वरूपमाथि प्रश्न उठाउँदै कडा कटाक्ष गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले वर्तमान सरकारलाई विभिन्न राजनीतिक स्वरूपसँग तुलना गर्दै अन्ततः प्रश्न गरे– ‘यो सरकार कस्तो हो ?’
उनले भने- ‘संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो। यो कस्तो सरकार हो ?’
पोखरेल यत्तिमै रोकिएनन्। उनले बालेन सरकारको स्वरूपलाई महाभारतकालीन पात्र जरासन्धको जन्मकथासँग समेत तुलना गरे।
उनले महाभारतकालीन मगधका राजा जरासन्धको जन्मकथा सुनाउँदै सरकारको संरचनामाथि व्यंग्य गरे।
‘महाभारत कालमा जरासन्धको जन्म कथा छ। मगध राजदरबारमा जरासन्धको जन्म दुई आमाको कोखबाट हुन्छ। दुई आमाले आधा–आधा शरीर भएको बच्चा जन्माउँछन् र जरा नामकी राक्षसीले ती दुई भाग जोडेर बच्चा बनाइदिन्छिन्। बालकको नाम जरासन्ध राखिन्छ,’ उनले भने।
त्यसपछि उनले वर्तमान सरकारलाई सोही कथासँग जोड्दै प्रश्न गरे, ‘यो सरकार महाभारतकालीन जरासन्ध जस्तो पनि देखिन्छ। खासमा बालेन सरकार कस्तो सरकार हो ?’
पोखरेलको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठकमा सरकारको राजनीतिक स्वरूप र कार्यशैलीलाई लिएर विपक्षी सांसदले उठाएको प्रश्नलाई थप चर्चामा ल्याएको छ।


















