शिक्षामा गरेको लगानीलाई विकासमा जोडिने छ : शिक्षामन्त्री पौडेल

असार १०ः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन्।

लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उनले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा विदेशको प्रतिस्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने जनाउँदै मन्त्री पौडेलले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुयाउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गरे।

त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन, विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ, उनले भने। बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उनले बताए।

मुलुकमा अनेकौँ पुरातात्विक क्षेत्र रहेकाले तिनको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य छ, कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै उत्खनन बाँकी नै छ, यी उत्खनन लुम्बिनी बौद्ध विश्वविद्यालयको जनशक्ति प्रयोग हुनुपर्छ, उनले भने।