असार १४: कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको ज्यान गएको हो ।
प्रहरीका अनुसार खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेको छ ।
त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।


















