असार १६ : मानव स्वास्थ्य जोगाउन प्रांगारिक खेतीतर्फ जानुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । आज नेपाल जनस्वास्थ्य प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यस्तो सुझाव दिएको हो ।
तरकारीमा प्रयोग गरिने विषादीले स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै प्रांगारिक खेती तर्फ जान सुझाव दिएको हो। नेपालमा आयात हुने कुल विषादीमध्ये ९० प्रतिशतभन्दा बढी तरकारी खेतीमा प्रयोग हुने गरेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठान अन्तर्गतको कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना क्षेत्रमा गरिएको अनुसन्धानले विषादी छर्कने अधिकांश कृषकहरुले टाउको दुख्ने, मांसपेशी दुखाई र श्वासप्रश्वासको समस्या जस्ता गम्भीर स्वास्थ्य समस्याहरुको गुनासो गरेको पाइएको थियो।
परियोजनाकै अर्को अध्ययनले २० वर्ष मुनिका गर्भावस्थामा विषादीको सम्पर्कमा नआएका आमाहरुको तुलनामा सम्पर्कमा आएका आमाहरुले कम तौल भएका बच्चाहरु जन्माउने जोखिम नौ गुणाले बढी देखिएको थियो।


















