एसपीपी अघि नबढाउने जानकारि सहित अमेरिकालाई पत्र पठाएको जानकारि

साउन १३:  सरकारले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले साउन ९ गते सरकारले अमेरिकालाई सो पत्र पठाएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले काम अगाडि बढाइसकेको जानकारी दिएका हुन्।

कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,’ संसदमा बोल्दै मन्त्री खड्काले भने, ‘आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’

पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।

स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए। मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो ।