साउन २०ः कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन्।
आर्थिक वर्ष २०७७ र ७८ भन्दा आव २०७८ र ७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन्।
आव २०७८ र ७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुखले जानकारी दिएका छन् । आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए। एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको प्रमुख गौतमले बताए।
आव २०७८ र ७९ को साउनमा दुई, भदौमा २०, असोजमा ३२२, कात्तिकमा एक हजार १५, मङ्सिरमा ३६६, पुसमा ८६, माघमा ५१, फागुनमा ५२८, चैत्रमा दुई हजार ४७, वैशाखमा एक हजार ९३६, जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा बाह्य पर्यटक भित्रिदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ। बाह्य पर्यटकलाई अनुमति बिना प्रवेश दिइँदैन तर आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन।
शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छु, उनले भने। आव २०७७र७८ मा कोभिड–१९ को सङ्क्रमणका कारण मनाङमा कूल ६०३ बाह्य पर्यटक भित्रिएकामा सबैभन्दा धेरै सार्क राष्ट्रका थिए। कोरोनाको पहिलो, दोस्रो असरले सताएर सङ्क्रमण कम भएसँगै पर्यटकको आगमन वृद्धि हुन लागेको अवस्थामा पुनः कोरोनाको तेस्रो लहर आएपछि पदमार्ग सुनसान भएको थियो।
वर्षायाममा सवारीसाधनको आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको थियो। उक्त पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकका नागरिक मनाङको भ्रमणमा आउने गरेको केन्द्रले जनाएको छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ।
केन्द्रका अनुसार अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन्। पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन्। थोरालाङ्लाबाट मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन्। उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ।
















