त्रिभुवन विमानस्थलबाट बेरुवा औँठीसहित दुई जना पक्राउ

साउन २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीका अनुसार बिहीबार नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका दुई व्यक्तिलाई सुनको बेरुवा औंठिसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका–४ काठमाडौंका साजन श्रेष्ठ रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको गतिविधि शंकास्पद लागेर विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई लैजान खोजिएको सुनको बेरुवा औंठि भेटिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तिम्सिना र श्रेष्ठको साथबाट दुई–दुई थान सुनको धातुको बेरुवा औंठी बरामद गरिएको हो ।

बरामद धातुको तौल अन्दाजी १६० ग्राम रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।