ज्येष्ठ नागरिक ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र प्रेरणाका पुञ्ज भएको बताएकी छन्। दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताएकी हुन्।

‘ज्येष्ठ नागरिकले जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ’, उनले भनेकी छन्।

२०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

यो वर्ष ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ।