काठमाडौं । सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय गर्न बसेको जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । सोमबार सबै नेताले धारणा राख्न नभ्याएपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकले मंगरबार बिहान ११ बजेदेखि निरन्तरता पाउनेछ ।
जसपा प्रवक्ता मनिस सुमनले सोमबारको बैठकमा सरकारमा जाने या नजाने, राजनीतिक परिस्थितिमा जसपाको भूमिका, चुनाव समीक्षा, विधान महाधिवेशन, संगठनलाई क्रियाशील बनाउनेलगायत विभिन्न विषयमा छलफल भएको इकाजगलाई जानकारी दिए ।
प्रतिनिधिसभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर, उसले सरकारमा सहभागी हुने/नहुने विषयमा भने टुंगो लगाइसकेको छैन । उक्त विषयमा पार्टीभित्र मत विभाजित छ । नयाँ चुनिएका सांसदहरू सरकारमा सामेल हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् ।
आजबाट सुरु भएको राजनीतिक समितिको बैठक भोलि (मंगलबार)सम्म चल्नेछ । बैठकमा १५१ जना सदस्यहरूकाे सहभागिता रहेकाे छ ।


















