हिन्दुसहित किराँत र बौद्ध धर्म मास्न योजनाबद्ध काम भए, जनसंघर्ष गरौँ : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा कमजोर बनाउन र मास्न खोजिएकाले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले योजनाबद्ध र संगठित रूपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएकोमा तीब्र आक्रोशसमेत पोखेका छन् ।

‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरू अल्पमतमा पर्ने छन्, यो सामान्य विषय होइन,’ अध्यक्ष थापाले भने । यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुने तर्फ चिन्ता व्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

‘हाम्रो कुनै धर्मप्रति बैमनश्यता, घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रूपमा भैरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ति छ,’ थापाले भने ।

अहिले कमजोर रूपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनाएरै छाड्ने थापाको दृढता थियो ।

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ, राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधव खत्री, भक्तपुर जिल्ला अध्यक्ष श्याम​प्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिनाभित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।