काठमाडौं, जेठ १८ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धि विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । यस अघिको संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न सरकारले गत जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
यस अघि संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर उनले विधेयक चित्त नबुझेको भन्दै संसद्लाई फिर्ता पठाएकी थिइन् । पुनः भदौ २० गते दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पठाउँदा पनि विधेयक शीतल निवासमा नै रोकिएको थियो ।
यसरी पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी नै शीतल निवासबाट बाहिरिएकी थिइन् ।
सोही विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएपछि बिभिन्न कारणले नागरिकता पाउनबाट वञ्चित ५ लाख बढी युवाहरुले नागरिकता पाउने छन् । तर विधेयकमा गरिएको बिभिन्न प्रावधानलाई लिएर विरोध पनि अझै कायम छ ।


















