काठमाडौं, असार ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले आक्रमणमा संलग्नमाथि दायर गरिएको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाए ।
उनले भने ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौं । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस् । पीडितलाई न्याय दिनुस् ।’
उनले न्याय मर्न नदिन सरकारलाई आग्रह समेत गरे ।
प्रमुख सचेतक परियारले त्रिविमा प्रहरी पनि भित्र जान पाउँदैन भन्ने मान्यतालाई मिच्दै गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ? भन्दै प्रश्न समेत गरे ।


















