वडा नम्बर १० राजधानीको पनि राजधानी हो : केसी

काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले आफ्नो वडा देशकै सबैभन्दा शिक्षीत जनता बस्ने वडा भएको बताएका छन् ।

वडाले बुधबार आयोजना गरेको धुम्रपान विरुद्धको सचेतना कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले देशको राजधानी काठमाडौं भएको र राजधानीको पनि राजधानी वडा नम्बर दश भएको दाबी गरेका हुन् ।

वडाको नेतृत्वमा आफुहरू आएपछि साक्षरता दर बढेको जनाउँदै उनले भने,‘हाम्रो वडामा नेपालभरमा सबैभन्दा धेरै ९३ दशमलव ९८ प्रतिशत साक्षर नागरिक बसोबास गर्दछन् । स्थानीय जनप्रतिनिधिको रुपमा हामी आउनुभन्दा ६ वर्ष अगाडि साक्षरता दर धेरै भएको श्रेणीमा पाँचौ स्थानमा थियौं ।तर,हामी आएपछि स्वास्थ्य सेविका,टोल सुधार समिति लगायत सबैको प्रयासले नेपालको धेरै साक्षरता भएको वडा मध्ये एक नम्बर हुन पुगेको छौं । म सबैलाई बधाई दिन्छु ।’

त्यस्तै,वडा अध्यक्ष केसीले काठमाडौं महानगरपालिकाले फूटपाथ व्यवस्थापन गर्ने निर्णय गरेसंगै उक्त निर्णयलाई आफ्नो वडाबाट पहिलो पटक कार्यान्वयन गराएको स्मरण गराउँदै वडाको धुमपान विरुद्धको सचेतना कार्यमा समेत वडा बासी, नगर प्रहरी लगायत सबैले सहयोग र सहकार्यमा सफल पार्नुपर्ने धारणा राखे । वडाले सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ निषेध गरि आज विहान सचेतना ¥याली निकालेको छ ।