काठमाडौं, साउन ९ । नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले धारणा राख्नेक्रम सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको भोलि (बुधबार) दिउँसो ४ बजे बस्ने बैठकले निर्णयहरू गर्ने छ ।
केन्द्रीय समितिले लिने निर्णयको तयारी गर्नका लागि कांग्रेसले बैठक बुधबार दिउँसोसम्मका लागि स्थगित गरिएको नेताहरूले जनाएका छन् । केन्द्रीय समिति बैठकले निर्णयहरू गर्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्ने छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यक्रमलाई संशोधनसहित पारित गर्ने छ । साथै, वर्तमान गठबन्धनलाई निरन्तरता दिंदै भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धतासहित जनजीविकाका सवालमा कांग्रेसले आफ्ना धारणाहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।
संविधान कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि संविधान संशोधनका लागि कांग्रेसले पहल लिने जनाउँदै पार्टी संगठनलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू समेटेर कांग्रेसले निणर्य सार्वजनिक गर्ने जनाइएको छ ।


















