काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैंले सवारी रोकेर रोडक्रस गर्न सक्ने

काठमाडौं,मंसिर ११ । काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’प्रविधि सञ्चालनमा ल्याइएको छ ।

आज जिल्ला अदालत अगाडि प्रदलयात्री आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसले प्रदल यात्रुलाई बाटो काट्न सहज हुनुका साथै सडक दुर्घटना हुने जोखिम पनि कम हुने महानगरले विस्वास लिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बबरमहल एरियामा बाटो काट्न यात्रीलाई निकै सकस हुने गरेकोले त्यसलाई सहज गर्न महानगरले नयाँ प्रविधि प्रयोगमा ल्याएको बताए ।

यात्रीका लागि आफैं सवारी रोकेर बाटो क्रस गर्ने यो नौलो प्रयोग भएको उल्लेख गर्दै उनले यात्रीलाई सुरुमा सुरक्षामा खटिनेहरुले सिकाउने र त्यसपछि भने खुला छोड्ने बताए ।

उनले भने, ‘नगरवासीका लागि यो अलि नौलो प्रयोग हो । अलि समय अभ्यस्त हुनलाई गाह्रो हुन्छ । यसलाई कसरी सहज गर्न सकिन्छ नगरका विज्ञसँग बसेर छलफल गर्छौ र सजिलो बनाउने कोसिस गर्छौ । यो एरियामा गाडी आउँदा यात्रीलाई पनि थाहा नहुने र चालकलाई थाहा नहुने गरेको अवस्था छ । यो ‘पेलिकन क्रसिङ’ जडान गरिसकेपछि एक चोटी बटम थिच्दा तीनै तिरको सवारी रोकिन्छ ।’

‘पेलिकन क्रसिङ’ प्रविधि महानगर क्षेत्रका विद्यालय र अलि धेरै भिडभाड हुने आवश्यक स्थानमा क्रमश थप्दै जाने महानगरले योजना बनाएको तण्डुकारले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले ‘पेलिकन क्रसिङ’ बारे भने, ‘आजदेखी पैदलयात्रीले बाटो क्रस गर्नलाई लाइट बटन थिचेर ३० सेकेन्डसम्ममा सवारी रोक्न सक्छन् । सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।’

हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा आज राखिएको लाइटको १० लाख रुपैयाँ लागत लागेको महानगरले जनाएको छ ।

महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।