मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोक कल्याणकारी विज्ञापनका लागि वैशाख १० गतेभित्र सम्झौता गर्न स्थानीय सञ्चार माध्यमलाई पत्राचार गरेको छ।
प्रदेश सरकारले कर्णालीका ५९ वटा अनलाइन, २२ पत्रपत्रिका, ३० एफएम रेडियो, दुई टेलिभिजन गरेर ११३ वटा सञ्चार माध्यमहरूलाई लोक कल्याणकारी विज्ञापनका लागि सम्झौता गर्न भनेको हो। ‘कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोकल्याणकारी विज्ञापन वितरणका लागि अनलाइन आवेदन माग गरिएकोमा यस कार्यालयको मिति २०८३ वैशाख ३ गतेको सचिवस्तरीय निर्णयानुसार विद्युतीय प्रर्णालीमार्फत आवेदन दिएका मध्ये सर्त पूरा गरेका ११३ सञ्चार माध्यमको आवेदन लोक कल्याणकारी विज्ञापन वितरणका लागि स्वीकृत गरिएको छ,’ कम्प्युटर अधिकृत ज्योती शाहीले पठाएको पत्रमा भनिएको छ, ‘स्वीकृत भएका सञ्चार माध्यमहरुले २०८३ वैशाख ४ देखि १० गतेसम्म सम्झौता गरी विज्ञापन प्रकाशन तथा प्रशारण गर्नुपर्ने भएकाले उक्त समयावधिभित्र सम्झौता गर्नको लागि अनुरोध गरिन्छ।’
संघीय सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन प्रकाशन–प्रशारणमा प्रतिबन्ध लगाइरहेका बेला कर्णाली प्रदेश सरकारले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि स्थानीय सञ्चार माध्यमहरूलाई सम्झौताका लागि आव्हान गरेको छ।
प्रदेश सरकारले रेडियो र टेलिभिजनको हकमा सुपर प्राइम टाइम, प्राइम टाइम र सामान्य गरी तीन वर्गमा विभाजन गरेर विज्ञापन प्रसारणको रकम भुक्तानी गर्ने गरेको छ भने पत्रिकाकाे हकमा प्रेस काउन्सिल नेपालको वर्गीकरणका आधारमा विज्ञापन प्रसारण गरेवापत मासिक भुक्तानी गर्ने गरेको छ।
यस्तै वर्गीकरणमा नपरेका पत्रिकाको हकमा ने दैनिकलाई १३ हजार, अर्ध साप्ताहिकलाई ६ हजार एक सय, साप्ताहिकलाई ६१००, पाक्षिकलाई ४७०० र मासिक, द्धैमासिकलाई ४७०० लोक कल्याणकारी विज्ञापनवापत प्रदान गर्ने गरेको छ भने अनलाइन सञ्चार माध्यमलाई मासिक १२ हजार ५०० रुपैयाँ प्रदान गर्ने गरेर कार्यविधि बनाएको छ।


















