सांगीतिक क्षेत्रलाई डिजिटल युगसँग जोड्न ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया हुँदै

केपि कुमार जलन

सांगीतिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ‘संगीत र प्रविधि विषयक अन्तरक्रिया’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल को आयोजनामा असार २० गते शनिबार दिउँसो १२:३० बजे सामाजिक विकास भवन, गोरखा एफएम चोक, अनामनगर, काठमाडौंमा सम्पन्न हुनेछ।

कार्यक्रममा प्रविधि विज्ञ राजेन्द्र अर्याल ले संगीतको डिजिटल मार्केटिङ, डाटा सुरक्षा तथा सामाजिक सञ्जालको व्यावसायिक उपयोग लगायतका समसामयिक विषयमा प्रस्तुति दिनेछन्। डिजिटल युगमा संगीतकर्मी, सर्जक तथा कलाकारहरूले आफ्ना सिर्जनालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न अपनाउनुपर्ने रणनीति र प्रविधिको प्रभावकारी प्रयोगबारे समेत छलफल हुने आयोजकले जनाएको छ।

संगीत तथा प्रविधिप्रति रुचि राख्ने कलाकार, सर्जक, विद्यार्थी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई ज्ञान र अनुभव आदानप्रदान गर्न आयोजकले आग्रह गरेको छ। गायक बिष्णु खत्रीका अनुसार यस्तो अन्तरक्रियाले नेपाली सांगीतिक क्षेत्रलाई प्रविधिमैत्री, सुरक्षित र व्यावसायिक बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।