मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न २०औँ राष्ट्रिय दिवसको नारा तय

सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ। भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्य प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ। मानव बेचबिखन नियन्त्रण सरकारको मात्र नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सबैको सहकार्यमा जोड दिइएको मन्त्रालयले जनाएको छ।

प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका स्वरूप पनि बदलिँदै गएकाले सुरक्षित र सजग प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै यस वर्षको नारा तय गरिएको हो। सामाजिक सञ्जाल, अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी र शोषणबाट नागरिकलाई जोगाउन डिजिटल माध्यमको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जनचेतना बढाउने उद्देश्य नाराले बोकेको छ।