रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो । बाढीका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र डुबानमा परेका छन् ।
प्रशासनले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको बताएको छ । बाढी एक्कासी आएका कारण ठुलो क्षति भएको पूर्वानुमान गरिएको छ ।
रसुवामा आएको ठूलो बाढीपछि उद्धार तथा राहत व्यवस्थापनका लागि सरकार उच्चस्तरीय छलफलमा जुटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीको अवस्थाबारे आवश्यक निर्णय लिन बुधबार बिहान ११ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। यता, गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ।
प्रधानमन्त्रीको निर्देशनपछि मेडिकल टोलीसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई पनि खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।


















