संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

फागुन २२ः सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे ।

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए । जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए ।

सहायक प्रवक्ता डा। अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए । उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको पनि बताए ।