कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दै

बैशाख ३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे सुरु हुने कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुनेछ । उनकाअनुसार बैठकमा भरतपुर र वीरगन्ज महानगरको नेतृत्वबारे छलफल हुनेछ ।

पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भए लगत्तै स्थानीय नेताले अस्वीकार गरेका थिए। सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागबन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन् ।

यही ५ वैशाखभित्र स्थानीय तहको भागबन्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।